Friday, September 23, 2011

जीवा द्धारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघका उपाध्यक्ष जीवा लामिछानेले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएको पाँचौ विश्व सम्मेलनको पुर्व सन्ध्यामा उनको यो उम्मेदवारी आधिकारीक रुपमा सार्वजनिक भएको हो ।


सुक्रबार उनीद्धारा जारी गरिएको सो उम्मेदवारी अबधारणापत्रमा भनिएको छ ।



"आदरणीय साथीहरु, सन् २००३ मा 'नेपालीकालागि नेपाली' भन्ने नारासहित गैरआवासीय नेपाली संघको स्थापना भएको हो । यो ८ वर्षको अवधिमा हामी धृरै रचनात्मक काम गर्न सफल भएका छौं । विश्वका विभिन्न ५६ देशहरुमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरु गठन गरिनु एउटा महत्वपूर्ण उपलब्धि हो । नेपाल भित्र र बाहिर अहिले गैरआवासीय नेपाली संघ एउटा स्थापित नाम बनिसकेको छ । गैरआवासीय नेपाली ऐन २०६४ र गैरआवासीय नेपाली नियमावली २०६५ जस्ता गैरआवासीय नेपाली अभियानसित सम्बन्धित ऐनकानुनहरु बनेका छन् । गैरआवासीय नेपालीहरुले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको छ विदेशबाट नेपालमा अनुभव र सीप भित्य्राउने संस्थागत प्रयास हुन थालेको छ । गैरआवासीय नेपालीहरुले नेपालमा विभिन्न सामाजिक कार्यको सुरुवात तथा दैवीप्रकोपमा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई राहत पुर् याउन मद्दत गर्नुका साथै आवश्यक पर्दा विदेशमा रहेका नेपालीहरुलाई पनि सहयोग गर्दैआएका छन् । हाम्रो संगठित प्रयासको परिणामस्वरुप कतिपय अवस्थामा विदेशमा कार्यरत नेपाली कामदारहरुको हकहितको प्रश्न राष्ट्रीयस्तरमा उठाएर सरकारको तर्फबाट आवश्यक कदम चलाउन पनि सक्षम भएका छौं । गैरआवासीय नेपालीहरुद्वारा सामूहिक रुपमा गरिने यस्ता विभिन्न क्रियाकलापबाट हाम्रो संगठित अभियानको महत्व र गरिमाको पुष्टि हुन्छ । नेपालमै पनि आज गैरआवासीय नेपालीहरुलाई देश विकासको एक महत्वपूर्ण सहभागीको रुपमा हेर्ने प्रवृत्ति बढेको छ ।

संसारका विभिन्न देशमा बसोवास गरिरहेका करिब तीस लाख नेपालीहरुको एकबद्धता र समर्पणबाट नै यो सम्भव हुन सकेको हो भन्ने कुरालाई हामीले बिस्रनु हुँदैन । यसका साथै नेपाली डायस्पोराले पनि अहिले हामीबाट निकै आशा राखेको छ । हाम्रो पुस्ता गैरआवासीय नेपालीहरुको पहिलो पुस्ता भएकाले नेपाली डायस्पोराको मातृभूमिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदे मुलुकको रुपन्तरणमा बढी सक्रिय र संगठित योगमान दिनुपर्ने तथा यसलाई एउटा परम्पराको रुपमा स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हामीमाथि आएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गतः आठ वर्षमा मलाई विभिन्न जिम्मेवारी सुम्पेको थियो । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मलाई सुम्पेका जिम्मेवारी अन्तर्गत देवघाटमा बृद्धाश्रमको निर्माण, २०६४-२०६५ सालमा बाढीपीडित तथा जापानमा सुनामीपीडितहरुका लागि राहत कोष अभियान, कोपेनहेगेनमा आयोजित "हिमालय बचाऊ" अभियान गैरआवासीय नेपाली संघअन्तर्गत च्यारेटी टास्क फोस्र लगायतका कार्यको संयोजकको दायित्वलई मैले समर्पित भई पूरा गरेको छु । मातृभूमिप्रति तपाईंहरु सबैको सद्भाव र लगावको कारणले सफल भएका यी परियोजनाहरुको कार्यान्वयनसित सँबन्धित अनुभवको आधारमा गैरआवासीय नेपाली संघको विश्वव्यापी बृहत् साजाललाई अझ मजबुत बनाई परिचालन गर्न सकिएको खण्डमा हाम्रो संगठनले यसभन्दा अझ ठूला योजनाहरु सफलतापूर्वक सम्पन्न गर्न सक्नेछ भन्नेमा अब हामीलाई कुनै द्विविधा छैन ।


नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विभिन्न परियोजनाहरुमा पनि संलग्न रहेको छु । विभिन्न सामाजिक संस्थाहरुसित पनि सम्बन्धित छु र स्कूल र पुस्तकालय संचालन, बाटोघाटो र पुल निर्माण, सरसफाइ र खानेपानीको व्यवस्था, साहित्यको प्रबर्धन जस्ता काममा यथोचित आर्थिक तथा मानवीय सहयोग गर्दै आएको छु । मेरो निम्ति गैरआवासीय नेपाली अभियानको "नेपालीका लागि नेपाली" भन्ने भावना नै यो सबै क्रियाकलापका लागि प्रेरणाको स्रोत हो ।


गैरआवासीय नेपाली संघमा सन् २००३ देखि नै संलग्नताको अनुभवबाट वर्तमान समयमा मैले जुन दायित्व वहन गरिरहेको छु त्यसभन्दा बढी उत्तरदायित्वपूर्ण स्थितिमा रहेर समेत काम गर्न सक्तछु भन्ने आत्मविश्वास पलाएको छ । आफ्ना अग्रजहरुको व्यक्तित्व समर्पणभाव मैत्रीभाव र कार्यक्षमताबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा हाम्रो संगठनलाई अझ उचाइमा लैजाने चुनौतीलाई नेतृत्व स्तरमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएको छु । तसर्थ विश्वभरिका धेरै साथीहरुसँगको अन्तरक्रियापछि मैले आगामी अक्टोबर महिनामा सम्पन्न हुने पाँचौं विश्वसम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्षपदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु ।


तपाईंहरुको विश्वास पाएँ भने संगठनका विविध कामका अतिरिक्त मेरो प्राथमिक महत्वको कार्ययोजना यसप्रकारको हुनेछ ।


१। सुरक्षित र मर्यादित वैदेशिक रोजगारी : मध्यपूर्व मलेसिया र छोटो समयका लागि रोजगारीमा गएका नेपालीहरुको ठूलो संख्या रहेका अन्य मुलुकका एनआरएन साथीहरुसंग परामर्श लिएर नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, स्वस्थ र मर्यादित तुल्याउन नीतिगत सुधारका लागि नेपाल सरकारसँग निरन्तर पहल गर्नेछु । हाम्रा नेपाली दिदीबहिनीहरुका लागि पनि यो क्षेत्र सुरक्षित र मर्यादित तुल्याउन विशेष रुपले कार्य गर्नेछु । वैदेशिक रोजगारीपछि नेपाल फर्केकाहरुको स्रोत-साधन र सीप-ज्ञानको परिचालन गर्नका लागि उचित वातावरण बनाउन सम्बन्धित निकायमा पहल गर्नेछु ।


२। नागरिकता बदर नहुने व्यवस्था: "एक पटकको नेपाली सधैंको नेपाली" भन्ने गैरआवासीय नेपाली संघको मूलनाराप्रति म पूर्ण रुपले प्रतिबद्ध छु । नेपालको नयाँ बन्ने संविधानमा गैरआवासीय नेपालीहरुको नागरिकता बदर नहुने व्यवस्था सम्बन्धी प्रावधान समावेश गर्नका लागि सम्विधानसभा नेपाल सरकार राजनैतिक दलहरु तथा अन्य सम्बन्धित निकायहरुसँग समन्वय गर्नेछु र आवश्यक परेमा सिङ्गो गैरआवासीय नेपाली समुदायलाई परिचालन गर्नेछु ।


३। गैरआवासीय नेपाली ऐनमा संशोधन र गैरआवासीय नेपाली संघ दर्ता : संघको विधानमा उल्लेखित गैरआवासीय नेपालीको परिभाषा अनुकूल सबै बुँदाहरु समावेश गरी गैरआवासीय नेपाली ऐनमा संशोधन गर्न नेपाल सरकारसँग पहल गर्नेछु वर्तमान ऐनमा वैदेशिक रोजगारमा संलग्न बहुसंख्यक गैरआवासीय नेपालीहरु र विद्यार्थीहरुलाई पनि गैरआवासीय नेपालीको मान्यता प्रदान गरिएको छैन । यसमा संशोधन ल्याइनुपर्दछ । गैरआवासीय नेपाली ऐन २०६४ को संशोधनपश्चात् नेपालमा गैरआवासीय नेपाली संघको दर्ताका लागि बाटो स्वतः खुल्न जानेछ ।


४। सामूहिक लगानी : जलविद्युतको क्षेत्रमा लगानी गर्ने नेपाल सरकारको आह्वानलाई मनन गर्दै यस क्षेत्रमा सामूहिक लगानीको अवधारणलाई मूर्तरुप दिन पहल गर्नेछु । नेपालका केही जलविद्युत् परियोजनाहरुमा एक लगानीकर्ताको हैसियतले मसंग यस्ता परियोजनाहरुको व्यवस्थापनमा आवश्यक अनुभव र विश्वास समेत छ । त्यस्तै अन्य सुरक्षित र उपयुक्त लगानीका ठाउँको पहिचान गरी सबै क्षेत्रका एनआरएनहरुले सामूहिक लगानी गर्न सक्ने वातावरण निर्माणलाई प्राथमिकतामा राख्नेछु ।


५। गैरआवासीय नेपाली संघको स्थायित्व: गैरआवासीय नेपाली संघको स्थायित्वका लागि अक्षयकोष लगायतका अवधारणालाई अगाडि बढाउनुका साथै नेपालमा गैरआवासीय नेपाली संघको भवन निर्माणको सम्भावनालाई मूर्तरुप दिन पहल गर्नेछु ।


६। विद्यमान लोककल्याणकारी परियोजनाहरुको निरन्तरता र गैरआवासीय नेपालीसित सम्बन्धित अन्य क्रियाकलापहरु : गैरआवासीय नेपाली संघद्वारा चालिएका खास गरी खुला विश्वविद्यालय र पब्लिक लाइब्रेरी आदि लोककल्याणकारी र परोपकारी परियोजनाहरुको कार्यलाई राष्ट्रिय समन्वय परिषद्हरुको समर्थन जुटाएर जारी राख्दै हरेक राष्ट्रिय समन्वय परिषदले नेपालमा एउटा परोपकारी परियोजना निर्माण गर्ने अभियनलाई अझ सशक्त ढङ्गबाट अघि बढाउने छु । त्यसै गरी विदेशमा नेपाली उत्पादनको प्रबर्धन तथा नेपाली डायस्पोरालाई मुलुकको पर्यटन प्रबर्धनका लागि निरन्तर प्रेरित र परिचालन गर्नेछु ।


साथीहरु अन्त्यमा हामी सबैको साझा प्रयत्न र एकताको प्रतीकको रुपमा रहेको हाम्रो संस्थाको प्रतिष्ठा गरिमा र कार्यक्षमतालाई जीवन्त राख्न सबैको अमूल्य सहयोग सदभाव र पूर्ण समर्थनको आशा राख्दै यहाँहरुको सदीच्छा र सपनालाई मूर्त रुप दिन म सक्षम हुनेछु भन्ने विश्वाससहित आउँदो अक्टोबरमा काठमाडौंमा सम्पन्न हुने पाँचौं गैरआवासीय नेपाली विश्वसम्मेलनमा भेट्ने प्रतीक्षामा रहने छु ।"

धन्यवादसहित
जीवा लामिछाने
उपाध्यक्ष गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद्
मास्को रुस महासंघ ।
मिति : २३ सेप्टेम्बर २०११ ।

No comments:

Post a Comment