Thursday, September 22, 2011

एनआरएनए रूसको सातौं वार्षिक साधारणसभा सम्पन्न

डा. विन्दिता लामिछाने । मास्को, १८ सेप्टेम्बर २०११ (आइतवार) । रसियाली जनमैत्री विश्वविद्यालयको 'इन्टरक्लब' मा गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् रूसको सातौं वार्षिक साधारणसभा सम्पन्न भयो ।

अपरान्ह १४.०० बजेदेखि सुरु भएको साधारणसभाको संचालन रूस राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. मधुकृष्ण श्रेष्ठ 'माधुर्य' बाट गरिएको थियो भने उपाध्यक्ष विमला भण्डारी बस्यालले उपस्थित सम्पूर्ण सदस्यहरूका साथै आमन्त्रित अतिथिहरूको हार्दिक स्वागत गर्नुभयो ।

साधारण सभाको समारोहखण्डमा सहभागी हुनका लागि रूस आप्रवासी संघ लगायत सम्बन्धित विभिन्न संस्थाहरूका साथै रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, नेपाली नारी निकुञ्ज, नेपाल खेलकूद तथा संस्कृति समाज, विश्व नेपाली साहित्य महासंघ, नेपाली छात्रसंघका प्रमुखहरूलाई पनि अतिथिको रूपमा निम्त्याइएको थियो ।
मास्कोस्थित नेपाली राजदूतावासका उपनियोगप्रमुख गहेन्द्र राजभण्डारीले गैरआवासीय नेपाली संघ रूसको क्रियाकलापमा राजदूतावासबाट पूर्ववत् सहयोग जारी रहने विश्वास दिलाउनुका साथै साधारणसभाको सफलताको कामना गर्नुभयो भने रूस-नेपाल मैत्री तथा सहयोग समाजका अध्यक्ष अलेक्सान्द्र सोलोभ्योभले साढे चार दशकभन्दा लामो समयदेखि क्रियाशील मैत्री समाज तथा रूसमा रहेका नेपालीहरूका संस्थाहरूबीच गहकिलो सम्बन्ध कायम रहेको जनाउँदै भविष्यमा पनि हाम्रा दुवै देशका जनताहरूबीच सम्बन्ध सुदृढीकरणमा हातेमालो गर्दै अगाडि बढ्दै जाने दृढता जनाउनुभयो ।

गैरआवासीय नेपाली संघ अन्तर्रराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष जीवा लामिछानेले आगामी अक्टोबर महीनामा काठमाडौंमा सम्पन्न हुन गइरहेको पाँचौं गैरआवासीय नेपाली विश्वसम्मेलनको सन्दर्भमा प्रकाश पार्नुहुँदै २ महीनाअघि मात्र मास्कोमा सम्पन्न भएको सातौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको अभूतपूर्व सफलतालाई गैरआवासीय नेपाली अभियानको उद्गमस्थल रूसमा बसोवास गरिरहेका नेपालीहरूको ऐक्यबद्धताको उदाहरण बताउनुभयो ।
साधारणसभाको विषयसूचिअनुसार कोषाध्यक्ष रङ्गनाथ पौडेल तथा महासचिव डा. मधुकृष्ण श्रेष्ठ 'माधुर्य' बाट क्रमशः आयव्ययको विवरण तथा कार्यकारिणी समितिको कार्यकालको प्रतिवेदन प्रस्तुत गरिएपछि त्यसमा व्यापक छलफल भई पारित गरिएको थियो भने भावी कार्यक्रमबारे पनि विचारविमर्श गरिएको थियो । उदाहरणका लागि भन्ने हो भने अंशतः रूस राष्ट्रिय समन्वय परिषद्को कार्यकारिणी समितिमा दुर्इ उपाध्यक्षमध्ये एक स्थान महिलाको निम्ति सुरक्षित राखिने प्रावधान रहेको सम्बन्धमा चर्चा हुँदा कतिपय नारी प्रतिनिधिहरूबाट नै यसरी संरक्षणको व्यवस्था गरिनु पनि लैङ्गिक असमानताको द्योतक हुने विचार व्यक्त गरिएको हुँदा नियमावलीबाट यो प्रावधान हटाउने निर्णय पारित भएको छ ।

वार्षिक साधारणसभाको पहिलो खण्डको कार्य सम्पन्न भएपछि अध्यक्ष डा. मणिराज पोखरेलबाट सभामा उपस्थित सबै महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।
मध्यान्तरपश्चात् रूस राष्ट्रिय समन्वय परिषद्को नयाँ पाँचौं कार्यकालका लागि कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया सम्पन्न गर्न डा. मणिराज पोखरेलको अध्यक्षतामा गठित सातसदस्यीय निर्वाचन समितिद्वारा साधारण सभासमक्ष नयाँ कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको घोषणा गरियो । तेह्रसदस्यीय कार्यकारिणी समिति यस प्रकार छ :
१. श्री उत्सवकुमार अमात्य (अध्यक्ष),
२. श्री रङ्गनाथ पौडेल (उपाध्यक्ष),
३. श्रीमती विमला भण्डारी बस्याल (उपाध्यक्ष),
४. डा. एकनारायण चापागाईं (महासचिव),
५. श्री गणेश रामदाम (सचिव),
६, श्री भरतराज झा (कोषाध्यक्ष),
७. श्री दीपेश दाहाल (सदस्य),
८. श्री एकनाथ दवाडी (सदस्य),
९. श्री रामप्रसाद पन्थी (सदस्य),
१०. श्री तेजबहादुर शाह -सदस्य),
११. योगेन्द्र पोखरेल (सदस्य),
१२. श्री प्रद्युम्न नेपाल (सदस्य),
१३. श्री हेमन्तकुमार सिंह (सदस्य) ।
साधारणसभामा उपस्थित सबै सदस्यहरूको करतलध्वनिका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष जीवा लामिछानेले नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो र गैरआवासीय नेपाली अभियानको उद्देश्यानुकूल क्रियाकलापमा सफलताको हार्दिक कामना व्यक्त गर्नुभयो ।
सौहार्दपूर्ण वातावरणमा सातौं वार्षिक साधारणसभाको समापनपश्चात् शुभकामना दिने क्रम चल्यो ।

No comments:

Post a Comment