Friday, March 18, 2011

रूसमा कृष्णप्रसाद भट्टराईको स्मृतिमा श्रद्धाञ्जलिसभा

कृष्णप्रकाश श्रेष्ठ । मास्को, १६ मार्च २०११ रूसको राजधानीमा बसोवास अध्ययन गरिरहेका नेपालीहरूको उपस्थितिमा नेपाली राजदूतावासमा सन्त राजनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको तेह्रौं पुण्य तिथिकै दिन श्रद्धाञ्जलिसभाको आयोजना गरिएको थियो  दिवंगत भट्टराईको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनटको मौनधारणाबाट प्रारम्भ गरिएको श्रद्धाञ्जलिसभाको संचालन गर्दै उपनिकाय प्रमुख गेहेन्द्र राजभण्डारीले नेपालका पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको ओजस्वी राजनैतिक व्यक्तित्वको सम्झना गर्दै भावनात्मक श्रद्धासुमन अर्पण गर्न इच्छुक महानुभावहरूसित आग्रह गर्नुभएको थियो
गैरआवासीय नेपाली विश्वसंघका उपाध्यक्ष जीवा लामिछानेले नेपाली कांग्रेसका एक संस्थापक नेता, दिवंगत कृष्णप्रसाद भट्टराईसंग विभिन्न समयमा भएको प्रत्यक्ष साक्षात्कारका अविस्मरणीय क्षणहरूको सम्झना गर्दै सन्त राजनेताको सत्यनिष्ठा, सादापना, राष्ट्रप्रेम झल्कने व्यवहारको चर्चा गर्नुका साथै विभिन्न अविस्मरणीय परिघटनाहरूको उदाहरण प्रस्तुत गर्नुभयो कसैसंग बोल्न मन नलाग्दा पान चबाएर मौन रहने कृष्णप्रसाद भट्टराईले आफू प्रधानमन्त्री रहँदा एकपल्ट कुनै कार्यमा व्यस्त भएका वेला तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीको फोन आउँदा समेत उत्तिको चासो नलिई पान मगाएको जस्ता घटनाहरूको उल्लेख गर्दै एकपल्ट डा. उपेन्द्र महतोले रूसबाट के उपहार ल्याउनुपर्ला भनी सोध्दा आफ्नो सोभियत यात्राकालमा चाखेको क्याबियर (माछाको फुल) मात्र ल्याए पुग्छ भन्नुभएको त्यसको साथमा स्वीटर समेत उपहार दिंदा बालसुलभ स्वच्छ प्रफुल्ल हृदयले त्यो लगाएर प्रदर्शन गरेको सादापनबाट आफू निकै प्रभावित भएको जनाउनुभयो
गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मणिराज पोखरेलले  भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिने महात्मा गान्धीसंग समेत भेट गर्ने कृष्णप्रसाद भट्टराईले आफ्नो जीवनमा पनि गान्धीवादी सिद्धान्तकै अनुसरण गरी जीवनको अन्तिम घडीसम्म नै आफ्नो सिद्धान्तमा अडिग रही राष्ट्रवादिताको ज्वलन्त उदाहरण प्रस्तुत गरेको कुरामा जोड दिनुहुँदै कुनै प्रकारको कागज नलेखेकाले जेलबाट नछुटी सबभन्दा लामो समय कारागारमा बिताउने यस्ता सिद्धान्तनिष्ट अभूतपूर्व आदर्श पुरुषको निधनपश्चात् नेपालका सबै पत्रपत्रिकाहरूमा प्रशस्त सामग्रीहरू प्रकाशित भइरहेको प्रसङ्गसहित नेपाली पत्रकार संघका संस्थापक-अध्यक्षको हैसियतले सोभियत संघको यात्रामा आउँदा तत्कालीन सोभियत सर्वोच्च नेता निकिता ख्रुश्चेभको अन्तरवार्ता लिने पहिलो विदेशी पत्रकार समेत हुनपुगेको जानकारी दिनुभयो
नेपाली नारी निकुञ्जकी अध्यक्ष डा. समता प्रसादले आफ्नो विनोदप्रियता भोलापनद्वारा सबैलाई प्रभावित पार्ने पूजापाठबाट होइन कि आफ्नो दैनिक जीवनको दृष्टान्तबाटै आन्तरिक शक्तिको प्रदर्शन गर्न सक्षम आध्यात्मिक व्यक्तित्वको रूपमा स्वर्गीथ कृष्णप्रसाद भट्टराईको चित्रण गर्दै सन्त नेता जस्तो परस्परविरोधी प्रतीत हुने विशेषणले विभूषित विनोदप्रिय महान् व्यक्तित्वसंग कैयौंपल्ट भएको आफ्नो भेटघाटको अविस्मरणीय क्षणहरूको स्मरण गर्नुका साथै कवीरको दोहामा भनिएझैं जन्मदा आफू रूने तर अरूलाई हर्षित तुल्याउने, अनि मर्दा चाहिं आफू हाँसीहाँसी स्वर्गारोहण गर्ने तर अरूलाई रुवाउने अत्यन्त विरलकोटिका नेताको निधनमा हामी सबै शोकाकूल बन्न पुगेका छौं भनी  श्रद्धाञ्जलि अर्णण गर्नुभयो
नेपाली छात्रसंघका अध्यक्ष डा. सचिन शाक्यले मास्कोमा अध्ययनरत सबै विद्यार्थीहरूको तर्फबाट नेपालका महान् नेता दिवंगत कृष्णप्रसाद भट्टराईको आत्माको चिरशान्ति उनका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो भने विनोद यादवले अत्यन्तै भावविभोर भई दिवंगत कृष्णप्रसाद भट्टराईको फोटोमा दुर्इ थुङ्गा फूल अर्पण गरी नेपाली कांग्रेसका स्तम्भस्वरुप मानिने छजना दिवंगत नेताहरूको पंक्तिका चिरस्मरणीय नेताको स्मृतिमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि राणाशाहीविरुद्ध जनक्रान्तिको संचालन गर्ने राजनैतिक पार्टीका संस्थापक कृष्णप्रसाद भट्टराईको नाम बनारसबाट निस्कने 'युगवाणी' पत्रिकामा आफ्नो बाल्यकालमै पढेको सम्झना यस पंक्तिकारलाई भएर आयो सादा जीवन उच्च विचारका धनी राजननेतासंग व्यक्तिगत रूपमा परिचित हुने सुअवसर प्राप्त नभए तापनि उनको कृतित्वबाट प्रभावित भएको भावाभिव्यक्तिका साथै दिवंगत महान् नेताप्रति श्रद्धाञ्जलिका दुर्इ शब्द अर्पण गर्दै रूसी लेखकहरूले रूसी गद्यकार गोगोलबाट लेखिएको  प्रसिद्ध कथा 'बर्दी' को आधारमा आफूहरूलाई 'हामी सबै गोगोलको ओभरकोटबाट निस्केका हौं' भन्ने गरेझैं नेपालका सबै राजनैतिक दलहरूपनि भट्टराईद्वारा स्थापित पार्टीकै वर्दीका उपज हुँदा सबैले मिलेर दिवंगत सन्तनेताको जस्तै निश्वार्थ भावले राष्ट्रहितको काममा जुटेर लाग्ने हो भने नेपालमा 'सुनको दिन उदाउने' सुनिश्चित भन्ने भाव व्यक्त गरेको थिएँ
महामहिम राजदूत श्री सूर्यकिरण गुरुङले स्वर्गीय कृष्णप्रसाद भट्टराईको कलमबाट निसृत हालै प्रकाशित संस्मरणात्मक कृति 'मेरो ' बाट उनको जीवनका अविस्मरणीय क्षणहरूको वर्णन सुनाउँदै जीवनभर अविवाहित रहेका नेपाली कांग्रेसका संस्थापकले प्रधानमन्त्रीनिवासबाट बाहिरिंदा समेत एउटा सानो कन्तुर सुराही मात्र लिएर निस्केको प्रसङ्गको सन्दर्भमा उनले बाबुबाजेका पालादेखिको पिर्कामा बसेर खाने गरेको जस्ता कैयौं प्रसङ्गहरुको उल्लेखसहित यस्ता निस्वार्थी व्यक्ति लामो समयसम्म नेपालको प्रधानमन्त्री रहेको भए अहिले देशको रूप नै अर्कै हुने थियो भनी जोड दिनुभयो
नेपाली राजदूताजासमा राखिएको स्मृतिपुस्तिकामा पनि रसियाली तथा नेपाली महानुभावहरूबाट  दिवंगत कृष्णप्रसाद भट्टराईप्रति श्रद्धाञ्जलिका भावाभिव्यक्तिपूर्ण शब्दडरू अंकित गरिएका छन् । यस प्रकार मास्कोमा आयोजित श्रद्धाञ्जलि सभामा उपस्थित नेपालीहरूले दिवंगत नेता कृष्णप्रसाद भट्टराईको निधनमा उनको आत्माको चिरशान्तिको कामनासहित अन्तस्करणबाटै उद्गार शोक प्रकट गर्दै भावात्मक श्रद्धासुमन अर्पण गरे
१७ मार्च २०११, मास्को, रूस महासंघ ।

No comments:

Post a Comment