Saturday, June 25, 2011

सर्बसम्मत नेतृत्व चयन गर्दै एनआरएन डेनमार्कको अधिवेशन सम्पन्न । - भीम के सी कमल

कोपनहेगन, २५ जुन

सर्बसम्मत रुपमा आगामी २ बर्षे कार्यकालको निम्ति नेतृत्व चयन गर्दै गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्कको प्रथम राष्ट्रीय अधिवेशन डेनमार्कको राजधानी कोपनहेगनमा सम्पन्न भयो।

नेपाली राजदुतावास डेनमार्कको सभाहलमा सम्पन्न अधिवेशनले आगामी कार्यकालको निम्ति कोपनहेगनका पुराना ब्यबशायी एबम् समाजशेवी मोहनराज मिश्रको अध्यक्षतामा आइसिसि सदश्य महेश कंशाकार सहितको कार्यकारिणी समिति आम सहमतिबाट चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा बबि कुमार क्षेत्री र गणेश ढकाल, महासचिव कृष्ण प्रसाद पौडेल, सचिब शिव कार्की, कोषाध्यक्ष हेम प्रसाद अर्याल, सदश्यहरुमा शशी कुमार ढकाल, नरेन्द्र बहादुर बस्नेत, रामशरण भट्ट, डम्मर तिमिल्सिना र सुर्य प्रकाश खनाल, महिला सदश्यहरु अन्जु श्रेष्ठ र बिध्या श्रेष्ठ क्षेत्री तथा आइसिसि महिला प्रतिनिधि देबी कुमारी गौतम एबम् युवा (बिध्यार्थी) प्रतिनिधि नबिन पौडेल चयन हुनु भएको छ। साथै बिधानको ब्यबस्था अनुसार समितिको संरक्षकमा संस्थापक अध्यक्ष सोमनाथ सापकोटा रहनु भएको छ।

अध्यक्ष सोमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत विजयकान्त लाल कर्णले मैनबत्ति बालेर गर्नुभएको थियो। गणेश ढकालको संचालन र महेश कंशाकरको स्वागतबाट प्रारम्भ भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि राजदुत कर्ण, नेपाली जनसम्पर्क समितिका अध्यक्ष त्रीलोचन सापकोटा, एनडिएफका अध्यक्ष घनश्याम गौतम, जन प्रगतिशिल मन्चका दिपक तिवारी र बिध्यार्थी प्रतिनिधि यामलाल सुबेदीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।



उदघाटन सत्र पश्चात सम्पन्न बन्द सत्रले बिधान संशोधन प्रस्ताब, बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पारित गरेको थियो।



कार्यक्रमको अन्तमा निबर्तमान अध्यक्ष सापकोटाले आफ्नो कार्यकाल सफल पार्न सहयोग पुर्याउने सबैलाइ धन्यबाद ज्ञापन गर्नुका साथै नवनिर्बाचित अध्यक्ष मिश्रले आफ्नो भावी कार्यक्रम संक्षिप्त रुपमा प्रस्तुत गर्नु भएको थियो।



बिध्यार्थी तथा डिपेन्डेन्ट, ग्रीनकार्ड स्किम, वर्क परमिट, पुराना पीआर बाहक बासिन्दा र अन्य युरोपियन पासपोर्ट लिएका गरी करिब १२०० जती आप्रवासी नेपालीको बसोबास रहेको अनुमान भएको डेनमार्कको सबभन्दा ठुलो छाता संगठनको अधिवेशनमा भएको उपस्थिति भने त्यती उत्साहजनक नभएको टिप्पणी गर्दै सहभागीहरुले एनआरएनको अभियान र संगठनलाइ थप प्रभाबकारी रुपमा अगाडी बढाउनु पर्ने आवस्यकता औल्याएका थिए ।